डायास्पोराको जङ्गलमा देश खोजिरहेका विश्वासदीप

 

चार वर्ष पहिले गृहयुद्धका पीडा लिएर आएका विश्वासदीप तिगेला यसपालि अर्को कृति देश बोक्नुको पीडा लिएर आएका छन् । दुवै कृति नियात्रा निबन्ध हुन् । अघिल्लो कृतिबारे मैले उत्तरआधुनिक ऐना (२०६२) मा समीक्षा चर्चा प्रस्तुत गरेको छु भने यस रचनामा म देश बोक्नुको पीडाको परिचय गर्न चाहन्छु ।

र्सवप्रथम त विश्वासदीपको लेखकीय चेतना र साधना अनि शक्तिको नेपाली साहित्यले प्रशंसा गर्दछ । विदेशमा सैन्य सेवामा रहेका व्यक्ति तिगेलाले आफैं सुन्दर सिर्जना गर्ने र अरुलाई पनि प्रेरित गर्ने काम गरिरहेका छन् । नेपाली साहित्यको समृद्धिमा यिनले योगदान पुर्‍याइरहेका छन् ।

आज आएर नेपाली साहित्यको स्वरूप र दिशा परिवर्तित हुँदैछ । अवको समय बिस्तृत, व्यापक र ग्लोबल भएकाले हाम्रा साहित्यकार अथवा पाठकले एउटा सीमित क्षेत्रको, देश भित्रको मात्र सिर्जना पढेर पुग्दैन । देश बाहिर के लेखिँदैछ, कोको सिर्जनामा लागेका छन्, कसरी ती अघि बढिरहेका छन् भन्ने कुराको पनि जानकारी राख्नु पर्दछ । देशबाहिर बसेर लेखिएका रचनामा केकस्तो विशेषता पाइन्छ त्यो पनि थाहा पाउनु पर्दछ । विश्वग्रामीकरणले सीमित पारेको जगतमा के कस्ता भूगोल र संस्कृति छन्, कस्ता इतिहास र साहित्य छन्, ती बुझनु आवश्यक छ । त्यहाँ नेपाली कसरी बसेका छन्, तिनीहरूको मानसिकता के कस्तो छ, सो कुरा बुझनु आवश्यक छ । त्योभन्दा पनि महत्वपूण्ा कुरा के छ भने अन्य भूगोल, संस्कृति, भाषा र सभ्यताका मानिसका बारेमा ज्ञान हुनु अत्यावश्यक छ । नत्र हाम्रो ज्ञानको सीमा साँघुरिने छ । विश्वासदीपले यस्तो ग्लोबल ज्ञानलाई विस्तार गर्ने काम गरेका छन् ।

अहिले बाहिरी मुलुकतिर पसेकाहरूले आफ्नो देशबाट टाढा भएको र नौला परिवेश भोग्नु परेको परिस्थिति लेखिरहेका छन् । बाहिरी परिस्थितिको बसाइलाई डायास्पोरा भनिन्छ । अब नेपाली साहित्यभित्र पनि डायास्पोरिक लिटरेचरले स्थान पाउन थालेको छ । गतवर्षेखि गरिमाले एउटा स्तम्भ नै मासिकरूपमा डायास्पोरालाई छुट्याएको छ । उता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यो वर्षेखि डायास्पोरा पुरस्कार प्रदान गर्न थालेको छ । डायास्पारिक चित्र र चरित्र बोकेका कृतिहरू आउन थालेका छन् । होमनाथ सुवेदीको उपन्यास यमपुरीको महल (२०६४) एक उदाहरण हो । हङ्कङ्बाट, बेलायतबाट, अमेरिकाबाट प्रकाशित अनेक कृति पूर्वी युरोप, पश्चिमी एसिया, अप्रिmका अनेक भूभागबारे अनेक कृति प्रकाशित भइरहेका छन् । तीमध्ये एउटा हो विश्वासदीपको प्रस्तुत कृति । यो भिन्न डायास्पोराको चित्र हो । देश बोक्नुको पीडामा नौवटा निबन्ध सङ्कलित छन् । तीमध्ये पहिलो छ सधैँ मन घोच्ने केही

गुनासाहरू । यो रचना नेपालकै परिवेशको छ- अन्तर्राष्ट्रिय एअरपोर्टको । त्यहाँ भएका पुराना कर्मचारी, तिनको पुरानो मानसिकता, तिनीहरूको आलश्य र अकर्मण्यता अत्यन्तै दुःख लाग्दा छन् । तिनीहरूको आलश्य र जुम्स्याईं, त्यहाँको अव्यवस्था, ढिलासुस्ती र सुविधाको अभाव देख्ता र भोग्दा लेखकलाई दुःख र पीर लाग्छ । दिग्दारी र चिन्ताले छोप्छ । हवाइअड्डा भनेको सम्पूर्ण विदेशीले सम्वन्धित देशकोबारेमा पहिलोपल्ट अनुभव गर्ने स्थान हो, प्रवेशद्वार । त्यहाँबाटै त्यस्तो अनुभव लिनु पर्दा विदेशमा हाम्रो कस्तो सन्देश पुग्ला भनी लेखक चिन्तित छन् । यो स्वाभाविक चिन्ताको अनि लज्जाको विषय हो ।

दोस्रो निवन्ध छ कोसोभो यात्रा जिउँदी आमाको चिहान तयारी । यो एउटा उत्कृष्ट रचना हो मर्मश्पर्शी पनि । यसमा १९९० पश्चात युगोस्लाभिया टुक्रिएपछिका विभिन्न देशले भोगेको स्थितिको संकेत छ । प्रस्तुत रचना कोसोभोमा केन्द्रित छ त्यहाँको जातीय, भाषिक र धार्मिक विखण्डनका स्थितिहरूको भयावह चित्र प्रस्तुत भएको छ । जीवनको मूल्य समाप्त छ, मानवीय संवेदना समाप्त छ; भय, त्रास, असुरक्षा र मृत्युले ढाकेको छ । यसको एउटा उदाहरण जिउँदै आमाको चिहान खनेर एउटा छोरो उनको मृत्युको प्रतीक्षा गर्दछ ।

तेस्रो रचनामा निबन्धकार कोसोभोबाट केन्यातिर लाग्दछन्- केन्या यात्रा एउटा सुन्दर क्षणको अन्त्यमा । अप्रिmकाको केन्या भूमी सुक्खाले ग्रस्त छ । जनता गरिबीले आहत छन् । हरेक अवस्थामा लेखक अरुको परिस्थितिसँग आफ्नो तुलना गर्दछन् । त्यहाँका गोठालाहरु देख्ता आफ्नै बाल्यकालमा गोठालो गएको, दुखी छाप्रामा पढेको वा बसेको सम्झना हुन्छ । धेरै चरित्रमा केन्या पनि नेपाल झैँ देखिन्छ । बिजुलीका खम्बा छन्, तार चुँडिएका । एड्सले प्रत्येक छमध्ये एक व्यक्ति ग्रस्त छ । कृषि र पशुप्रणाली उस्तै, पछौटेपन उस्तै । तिगेलाको निरीक्षण शक्ति अति सूक्ष्म र तीब्र छ । उनको तात्कालीनता प्रशंसनीय छ- यो घटनाको उनले जहाजमै लेखे ।

चौथो निबन्ध छ गरीब देशको नागरिक हुनुमा बढी मानवता । उनी वेलायतको गाँउगाउँमा पुग्छन् । त्यहाँका खेतीपातिमा डुबेका कृषक देख्ता आफ्नै बाल्यकालको सम्झना गर्छन । दुखी समाजमा हुर्केका उनी बाल्यकालको अभाव र कष्ट सम्भिnन्छन्- पढ्ने इच्छा थियो, टुकी बाल्ने मट्टीतेल फारो गर्नु पथ्र्यो । आज उनले तिनै कुरा लेख्तैछन् । अतीत र वर्तमान मिसाएर एउटा फ्युजन तर लेख्नु सजिलो छैन । लेख्तालेख्तै सिर्जनामा लागेकैले आज उनीहरुको पल्टनमा पनि एउटा माहोल बनेको अनुमान गर्न सकिन्छ । लेखनकै क्षेत्रमा विभिन्न गोष्ठीमा भाग लिने अवसरसमेत उनले पाएका छन् । दुखबाट उठेका जीवनमा धेरै उपलब्धी छन् । यो सम्झेर उनलाई ढुक्क पनि लाग्छ ।
पाँचौ निबन्ध छ मलेसिया यात्राको- गुफाको राजधानी मुलु यात्रा । त्यहाँ पुग्दा आफ्नो गाउँको थामडाँडा पुगेझैँ हुन्छ । त्यहाँको अवस्था देख्दा पनि आफ्नै देशको गतिको सम्झना हुन्छ- अझ दुगतिको । हत्या हिँसाले देश समाप्त छ ।

मनमा देश विकासको तरङ्ग उठाउँदै सारवाक क्षेत्रमा जान्छन्, त्यहाँ विश्वप्रसिद्ध गुफाको अवलोकन गर्छन्, स्थानीय बासिन्दाको जीवन शैली टिपेर फर्किन्छन् ।
छैठौँ निबन्ध देश बोक्नुको पीडा । यो शिर्षकबाटै पुस्तकको नाम रहेको छ । यस निबन्धले पनि अन्तर्राष्ट्रिय जगतमा नेपाली जातिको छबि धमिलो हुँदै गएको, नेपालीले हिनत्व भोग्नु परेको कुरा प्रकट गरेका छन् । त्यसै गरी सातौँ निबन्ध राम्रो सपना देखेको रातमा पनि लेखक केन्यामा छन् । अतीत स्मरणले उनलाई झस्काउँछ; उनी भावुक बन्छन् । त्यहाँको जीवन निम्न गर्तमा डुबेर एड्सले निलेको, गरीबी र अन्धकारले खाएको देख्तछन् । यो मानव सभ्यताकै लज्जास्पद पराजय लाग्दछ । यो पीडादायी चित्र उनी अँध्यारामा बसेर र्टचको सहायताले लेख्छन् । कति गाह्रो छ सिर्जना गर्नु ! एउटा सपना देख्छन् त्यो आफ्नै देशको उन्नतिको हुन्छ । यसरी सपना बिपना सबै देशकै उन्नतिको सम्झनामा समर्पित तिगेला यसकै चिन्ता र पीर बोकेर हिँड्छन्, लेख्छन् । त्यही हो उनको देश बोक्नुको पीडा ।

आठौँ निबन्ध छ बेलायतमा खुसीको सपिङ । यसमा बेलायतको बजार, त्यहाँका नेपाली र त्यहाँका बसाइको विशेषता उतार्छन् भने अन्तिम निबन्ध छ अफरिकाका साम्बुरु जातिको परिचय ।

नेपाली साहित्यका केन्द्रहरु परिवर्तित हुँदैछन् । नयाँ केन्द्र बन्दैछन् । ती अनेक डायस्पोरा हुन् । विश्वासदीपले एउटा विशेष खण्डको, अरु नेपालीले नलेखेका भूभागको, त्यहाँका बासिन्दाका जीवन र तिनका संस्कृतिको चित्र प्रस्तुत गरेका छन् । यो डायस्पोरिक चित्र हो, नवीन जो अति महत्वपूर्ण छ ।

नेपाली यात्रा-संस्मरण साहित्यमा तिगेलाले आफ्नो स्थान सुरक्षित राखेका छन् । उनी भित्र एउटा स्थिर लेखक उदाइसकेको छ । उनमा परिस्कार छ, नवीनता छ र फेरेसनेस । हरेक ठाउँमा उनी इमान्दार छन् र हरेक पल देशको उन्नतिको चिन्तामा छन् । यस्ता तिगेलाको देश बोक्नुको पीडा अत्यन्तै नौलो र पठनीय यात्रा निबन्धसङ्ग्रहको नेपाली वाङ्मयमा स्वागत गर्दछु ।



डा. गोविन्दराज भट्टराइ

(शनिवार २६ असौज २०६४ का दिन बानेश्वर, काठमाडौँ स्थित रारा कम्प्लेक्समा कृति विमोचनका अवसरमा पाठ गरिएको)



 
 



देश बोक्नुको पीडा पढीसके पछि मेरो छाती भित्र सिङ्गो देश दुःखि रहेकोछ ।

 

युवा कवि तथा पत्राकार शशी लुमुम्वुजीलाई मैले नेपालमा सम्पर्क गरे हाम्रो कुराकानी भयो र उहाँले समय खेरो नफाली मलाई भनीहाल्नु भयो विश्वासजीले पनि देश बोक्नुको पीडा नामक किताव विमोचन गराउदै हुनुहुन्छ भन्नु भयो । मैले विश्वासजीलाई बेलायतमै हुनुहुन्छ भनेर, मोवाइलमा थुप्रै पटक सम्पर्क गर्न खोजेको थिए । उहाँको मोवाइल मेसेजमा भएकोले मेसेजपनि भरेर छाडेको थिए । तर विश्वासजी नेपाल पुगेर पाठकहरु वीच आफनो सिङ्गो देशको भारि बोकेर विश्व भरि फन्को मारिसकेपछि देश बोक्नुको पीडा विमोचन गरेर पनि भारी विर्साई सकेका रहेछन । मैले यो खवर सुन्न साथ मेरोपनि अलिकति पीडा कमी भएको महसुस गरे । हो हामी सवै नेपालीहरु विश्वको कुनाकाप्चामा रहेर छाती भित्र नेपाल देशलाई बोकेर प्रवासमा पीडादायी, कष्टकर जीवन व्यतित गरिरहेका छौं । मलाई त नारन दाईले गाउनु भएको राष्ट्रिय गीत को सम्झना आयो । (म मरेपनि मलाई मेरो देशको माया छ । यो छाती भरि मुरिका मुरि नेपालको माया छ ।) विश्वास तिमीले मात्रै यो गीतको भाव र मर्मलाई बुझेका रहेछौ । तिमी जस्तै ब्रिटिस सैनिकमा सेवारत र म जस्ता अवकास पछि बसोबास गर्न आएका कुनै कुनै मित्रहरुले बेलायत हाम्रो देश हो भन्दै गर्वकासाथ बेलायतलाई प्राथकिता दिएको र नेपाललाई गौण रुपमा लिएको मैले प्रत्यक्ष सुनेको छु । तिम्रो यो राष्ट्र र राष्ट्रियता प्रतिको माया छाती भरि बोकेर युद्धले छतबिक्षत भएको देशहरुमा संगीनको धारमा जिन्दगीलाई राखेर हिडनु पकैपनि तिम्रो रहर हैन बाध्यतानै हो । यति जोखिमपपूर्ण जिन्दगीलाई पानी भित्र पुणिर्माको रातमा जुनको प्रतिविम्ब हेरेझैं पाठकहरु माझ एउटा जिउदो इतिहास प्रतिविम्वत गराउन सफल भयौ भनेर मैलै मन भित्र सोचे । यी माथी उल्लेखित कुराहरु मैले शशीजी सँग कुरा गर्ने बित्तिकै मन भित्र कल्पना गरेको थिए ।

विश्वासजी नेपालबाट फर्केपछि पुस्तक प्राप्त गरेर पढन पाउने छु भनेर ज्यादै लालायित थिए । र मैलै फेरि सम्पर्क गरे विश्वासजी फर्केको तीन दिन बिति सकेछ । बधाईका साथ मैले पुस्तकको बारेमा कुरा गरे । तर विश्वासजीले क्षमा याचना गर्दै पुस्तक १५ प्रति जति लिएर आएको सकियो भनेपछि म निरास हुनु स्वभाविक थियो । तर विश्वासजीले मलाई भन्नुभयो दाई तपाईलाई पी. डि. एफ. फाईलमा पठाउने छु । किताव पढे जस्तै हुन्छ भने पछि निरासा खुसीमा परिणत त भयो । र मैले तुरुन्तै मेल मार्फत प्राप्त गरे पछि पढन बसे, कृष्ण धराबासीले लेखेको भुमिका र अन्य भुमिकाहरु पढदै थिए । छोरी आएर गृहकार्य छ भनेपछि कम्प्युटर छाडी दिए । यसरि एउटै कम्प्युटर सबै घर परिवारले चलाउनु पर्ने भएकोले मैले पढी सिध्याउनका लागि समयनै पर्याप्त भएन । यदि मौलिक पुस्तक प्राप्त गरेको भए छोरीको गृहकार्य गर्दागर्दै मैले पढन सक्ने थिए । डिउटी भएको बेला खुसुक्क पढेर सिद्धाउने थिए । यो मेरो अनुभवले यस्तो लाग्यो कि अत्याधुनिक युगले विभिन्न उपकरणहरुको उपभोग गर्न पाए पनि हामीले मौलिकतालाई दिन प्रतिदिन गुमाई रहेका छौं ।इमेल, इन्टरनेट अनलाईन च्याटिङ्ग र वेभ क्यामेराले अनुहार समेत पनि हेर्न पाएता पनि अव आफनो आफन्तजन तथा प्रेमी र प्रेमीकाको मौलिक हस्तलिपिबाट लिखितपत्र पढनबाट हामी बन्चित भई सकेका छौं । २१ औ शताब्दीले विश्वलाई खुम्चाएर विश्वग्राम भनेर हामी जति नजिक भएको अनुभुत गरेपनि मलाई त लाग्छ, वेभ क्यामबाट अनुहार हेर्नु भन्दा त सुन्दर हस्तलिपिले लेखिएको पत्र पढदा कति आत्मियता र मौलिकता पाउन सक्छौं भन्ने त जो हामी इलेक्ट्रोनिक मेल नभएको जमानामा हृयान्ड रिटन मेल हुलाकी दाईले झोलामा बोकेर घर घरमा पुर्‍याउने जमानाका पीडिहरुलाई मात्र थाहा छ ।

यहि अनुरुप मैले अव मौलिक पुस्तक प्राप्त गर्ने विकल्पहरु खोजे । कवि टंक वनेमजी र मेरो समय समयमा फोन मार्फत साहित्यिक कुराकानी भईरहन्छ । त्यहि क्रममा मैले देश बोक्नुको पीडा पाउन नसकेर पी. डि. एफ.मा पढनु पनि नभ्याएको जानकारी गराए । टंकजी चाहि एकप्रति पाएर पनि पढि सक्ने भाग्यमानी ब्यक्ति पर्नु भएको रहेछ । र उहाले मलाई हुलाक मार्फत पठाउने प्रणगर्नु भयो । भोलीपल्ट टंकजीले पठाइ दिनु भएपछि पर्सिपल्ट पाउन साथ पढन थाले । मैले माथीनै उल्लेख गरिसकेको छु भुमिका चाहि पी. डि.एफ.मा पढि सकेको थिए र सिधै बिषय सुची तिरनै लागे मन घोच्ने केहि गुणासाहरु शीर्षक पढदा नेपालको बिमानस्थलमा हुने लापरवाहि विपन्न भौतिक सुविधा र अन्तर्राष्टिय विमानस्थल एक भन्दा बढी हुनुपर्ने जोड दिएर देश विकाशमा दुरदर्शिता प्रकट गरेका छन लेखकले । यस सन्देशले देशको प्रत्येक सरकार परिवर्तनमा कहिले लुम्विनीमा त कहिले पोखरामा अन्तर्राष्टिय बिमानस्थल बनाउने योजना तर अहिले सम्म त्यहि एउटै बिमानस्थलले चित्त बुझाउनु परेको तितो सत्यलाई औंलाई दिएर देशको अकर्मण्य नेताहरुलाई निकै चोटिलो झापट हिर्काउन सक्षम छन लेखक ।

जवमा केन्या यात्राको बारेमा पढन थाले म नोष्टालजियाको तलाउमा चुर्लुम्म डुब्न थाले । कारण म पनि १२ बर्षअघि त्यहि विश्वासजीले घुमेका प्रत्येक स्थलहरुमा पुगेको छु । नान्युकिको भुमध्य रेखाको होर्डिङ्गबोर्ड मुनीको विश्वासजीको तस्वीरले झनै ताजा सम्झना दिलायो । त्यहा पुगेपछि सवैले तस्वीर खिच्ने गर्दछन र मेरो पनि त्यो तस्वीर सुरक्षित साथ एल्बममा राखेको छु । राष्ट्रिय निकुन्जका जङ्गली जनावर नजिकबाट दृश्यावलोकन गर्न पाईने र लेखकले त्यो हुटेल २४ सै घण्टा असुरक्षित भएको जानकारी गराउनु भएको सत्य भएपनि, त्यहि जङ्गली जनावरहरुको क्रियाकलाप हेर्ने सुनौलो अवसर भएकोलेनै त्यो होटल राम्ररी सञ्चालन भईरहेको मेरो दावी छ । विश्वासजीले आफु विलासितामा निर्लिप्त भएर पर्यटक हुन चाहेका छैनन । बिभिन्न ठाउँ र परिस्थितिको दर्दनाक जनजीवनले झेलीरहेको कटु अनुभवहरु अनुसन्धान गर्न भ्याएका छन । नातुकू आफनो पतिले अर्कीनै विहे गरेर धोका र क्रमशः एडसबाट पतिको मृत्यु भएपछि पति वियोग त छदै थियो । नातुकू स्वयमलाई पनि एच. आई. भी. संक्रमित भएको थाहा पाए पछि दुइ छोरीलाई वास्ता नगरि आर्चरपोष्टको वासारो नदीमा फालहालेर आत्माहत्या गरेको र नदी किनारमा दुइवटी छोरी आमाको लासतिर हेरेर रोईरहेको दृश्यले त झन मलाई मुटुनै झिकेर फालिदिए जस्तो सम्वेदनाहीन भएको अनुभुत गरे ।

मुलु गुफाको भ्रमणको अन्तिममा उनका साथी आलेनले तस्वीर खिच्नका लागि युनियन ज्याक झण्डा निकाले पछि लेखकलाई ज्यादै छाती भरि राष्ट्रिय भावनाका छालहरु उर्लेर आउछ । उनको यात्रा निर्रथक सम्झन्छन, लेखक स्वयमले भनेका छन नखाउ भने दिन भरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार । नेपाली भुमिमा जन्मेकाले मुटु भरि माया नेपालको छ तर परिबन्दले बेलायतको नुन खानुको आफनो पीडा र बाध्यता त्यहाँ फेरि दोहरियो । मैले नेपालको झण्डा बोकेको भए संसारकै दुर्लभ ठाउँमा प्यारो झण्डा बोकेर फोटो खिच्न पाउने थिए । मन एकतमासाले खेल्यो । मेरो देशको झण्डा सम्झी रहे र बाचा गरे अव देखि जवजव विदेश घुम्न जान्छु नेपालको झण्डा बोक्नेछु । हो लेखकको यो गुणासो हामी सबै नुनको सोझो लाहुरेहरुले आत्मासात गर्नै पर्दछ । हाम्रा पिता पूर्खाहरुले दोस्रो विश्व युद्धमा त्यहि नुनको सोझो भएर गोलो अनुहार, चिम्रो आँखा, नेप्टो नाक भएका हेर्दा एउटै आमाको कोखबाट जन्मेका जुम्ल्याहा सन्तानझै देखिने जपानी नागरिकहरुको घाँटीमा खुकुरि प्रहार गर्नु परेको थियो । यहि प्रसङ्गलाई समेटेर, हामी बुद्धु छौं र त बीर छौं । हामी बीर छौं र त बुद्धु छौं । भनेर कवि भुपी शेरचनले कवितामा इङगित गरेका छन । यसरि हामी बुद्धु र बीर भएर रणभुमिमा नुनको सोझो बनेर नाङ्गो खुकुरीले शत्रुहरुको शिरोच्छेदन गरेर विजय प्राप्तपछि हातमा युनियन ज्याक झण्डा लिएर विजयोत्सव मनाउदैनै आएका छौं । कुनै पनि भ्रमणमा लेखकले चन्द्र सूर्य अङ्कति झण्डा लिएर हर्षोत्कर्षचुम्न खोज्नु भएतापनि, तर ऐतिहासिक विजयहरुमा भने उनको हातमा त्यहि युनियनज्याक झण्डानै बोक्नु बाध्य हुनुपर्ने छ । जो लेखकले जुन खोलाको पानी पिउनु त्यहि खोलाको मंगल गाउनु पर्छ भन्ने कहावतलाई आफैले अभिव्यक्त गरि सकेका छन ।

कोसभो यात्रामा जिउदी आमाको चिहान तयारि भएको देख्दा तिगेला आश्चर्यचकित हुन्छन । हाम्रो नेपाली परम्परा अनुसार त शिर ढल्छ र अनिष्ट हुन्छ भन्ने गर्छन । जिउदै चिहान तयारि भई सकेको बुढी बजुले राखिया अर्थात स्थानिय रक्सी पिउन कर लगाए पछि तिगेलाले हातको इसाराले नपिउने बताए । लेखकले र्सर्बियन भाषा बोल्न नसक्ने भएकोले आफनो मन भित्रका अभिव्यत्तिहरु बुढी बोजु समक्ष प्रस्फुटन गर्न नसकेको गुनासो गरेका छन । उनले भनेका छन बृद्धाहरुको अनुहारमा एक प्रकार भगवानको रुप देख्छु । उहाँहरुको नजिकमा मात्र पुग्न पाउदा पनि मलाई ज्यादै आनन्द लाग्छ । उहाँहरुको प्रत्येक बोलीमा एउटा बेग्लै किसिमको रस हुन्छ । बृद्धाहरुको मायामा साच्चैनै स्वर्ग झै आनन्द र सन्तुष्टि पाईन्छ । यसरि आफनै पारिवारिक स्नेहलाई सम्झना गरेर आफनै बोजु सामु आई पुगेको भान हुन्छ लेखकलाई ।

नियात्राकार तिगेलाले गृहयुद्धको पीडा लिएर नेपाली बाङमयमा आफनो पहिलो उपस्थिति जनाएका हुन । अंग्रेजी साहित्यमा सिपाहिकै कलमबाट ब्राभो टु जिरो जस्तो कहाली लाग्दो युद्धसंस्मरण लेखेर सनसनीपूर्ण चर्चामा आएपनि नेपाली सहित्यमा लेख्नु बाँकिनै थियो । यहि नलेखिएको सबैको अधुरो सपना साकार पार्न तत्पर रहेर फेरिपनि दोस्रो कृति देश बोक्नुको पीडा लिएर आम पाठकहरुलाई बेग्लै स्वाद पस्किएका छन तिगेलाले । लैनसिं बाङदेलको स्पेनको सम्झना र ताना शर्माको वेलाईत तिर वरालिदा र पाताल प्रवास लेख्ने यी दुइ अग्रज र्सजकबाटनै नेपाली साहित्यमा नियात्रा लेखनको प्रारम्भ भएको हुनुपर्दछ । ताना शर्माको वेलाईत तिर बरालिदाले मदन पुरष्कार प्राप्त गर्नपनि सफल भएको थियो । अहिले सम्म मैले पढेका नियात्रा संस्मरणहरु एउटै देशको भुगोलिय रेखा भित्र सिमित रहेर लेखिएका छन । तर बिश्वास दीपले एउटै देशको भुगोलिय रेखामा कैद भएर लेख्ने परम्परालाई तोडेर विभिन्न देशहरुको संस्मरण संकलन गरेर घरमै बसेर नेपाल हेर्नु भनेझै पाठकहरुलाई नेपालमै बसेर थुप्रै देशको चक्कर मार्न लगाएका छन । साम्बुरु जाति एक परिचय जस्ता उहाँको संस्मरणले त झनै मानविकिशास्त्र र सामाजशास्त्र अध्यन गर्नेहरुको लागिपनि महत्वपपूर्ण दस्तावेज लिएर आएका छन । माथी उल्लेखित पुराना स्रष्टाहरुको नियात्रामा अत्याधिक रुपमा नोष्टाजियाले सताईरहेको पढन पाईन्छ भने विश्वासजीलाई भने पटक-पटक नेपाल फर्किने मौका मिलेको छ । उनको यो नियात्रा पढदा उनी विश्व विद्यालयबाट अभजर्भेशन टुरमा गएझै पनि लाग्छ । लेखकले अन्य वैभवशाली देशहरुझैं नेपाललाई पनि सम्पन्नराष्ट्र कहिले बन्ने हो भनेर देश विकास यथास्थितिमा रहेको बारे गहिरो चिन्ता व्यक्त गरेको पाईन्छ ।

 

दयाकृष्ण राइ
वेल्स कार्डिफ

लण्डनबाट प्रकाशित हुने नेपाली सन्देश पत्रिकामा प्रकाशित समिक्षा लेख

 
     
     
   
© www.biswas.com.np